धनगढीः भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाकाको अनुगमन गरिएको छ। भारतबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण दर बढेकाले नाकामा परीक्षण र खोपको व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको हो।
अनुगमनमा गएको समूहले कोरोनाको सङ्क्रमणदर, परीक्षणको अवस्था, सीमा क्षेत्रमा रहेका स्वास्थ्यकर्मीको जनशक्ति, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा लगायतको निरीक्षण गरेको छ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिमका डीआईजी मोहनकुमार आचार्यसहितको स्वास्थ्यकर्मीहरुको समूहले सीमा नाकाको अनुगमन गरेको हो।